लामो समयको अन्तराल पछी आज १ घण्टा ४४ मिनेट लाइनमा लागेर स्कूटरमा ३ लिटर पेट्रोल हालियो l
अफिसबाट घर फर्किदै थिए हरिहर भवन स्थित साझा पेट्रोल पम्पमा पेट्रोल हाल्न लाइन लागेका मोटरसाइकलहरु ललितपुर महानगरपालिका अगाडी लाबिम मल सम्म भएको देखे l बिहान अफिस जाँदा मदन स्मारक सम्म लाइन पुगेको देखेको थिए l आफ्नो पनि स्कुटरमा पेट्रोल लगभग सक्किएको अवस्था थियो l
शनिबार र आइतबार अफिस बिदा भएकोले कतै जानु पर्ला भन्ने चिन्ता त थिएन l तैपनि लाइन लाग्ने कि नलाग्ने भन्ने दोधारमा परे किनकि भोक र शायद दिनभरिको परिश्रमले होला थकित थिए l सदा झैँ घर पुगेर श्रीमतीले माया गरेर दिने मिठ्ठो चियाको सुर्की लगाउन मन लालायित थियो l अचानक भोलि शनिबार भएपनि बिहान ०८:०० नै ड्युटीमा खटिनु पर्ने आदेश सम्झिए l तर स्कूटरमा पेट्रोल थिएन l त्यसैले मन को ईच्छालाई मनमै दबाई लाईन लाग्न बाध्य भए l
म लाइन लाग्दा साँझको ०५:४५ बजेको थियो l लाइन बिस्तारै बिस्तारै सर्दै थियो भने म भन्दा पछाडी एक पछी अर्को गर्दै मोटरसाइकलहरु थपिदै थियो l मलाई लाबिम मल देखि एभरेष्ट बैंक सम्म पुग्न ठ्याक्कै ४५ मिनेट लाग्यो l भोक र थकाइले लखतरान भएको अवस्थामा धुँवा,धुलो त्यसमाथि भ्यार्र भ्यार्र, घ्रुम्म घ्रुम्मको चर्को आवाजमा बत्तिएर आउने अग्ला अग्ल्ला मोटरसाइकल देख्दा त्यसै त्यसै रिंगटा लाग्या जस्तो भयो l पेट्रोल भर्ने आफ्नो पालो आउन अझै निक्कै समय लाग्ने निश्चित थियो l समय कटाउन के गर्ने गर्ने भयो l त्यस पछी आफ्नो थोत्रै भए पनि मोबाइल फोनबाट स्कूटरको सिटबाट न ओर्लिकन अल्छी पाराले फोटोहरु खिची आफुलाई ब्यस्त राख्ने प्रयास गरे l
फलानो लुगा पसल नजिक पुगे पछी सिमसिम पानी पर्न थाल्यो l आफुलाई भिजाएको भए पनि धुलोबाट प्राकृतिक रुपमै राहत पाउदा रमाइलो अनुभव भयो l पेट्रोल पम्प पुगेर आफ्नो स्कूटरमा पेट्रोल हाल्ने पालो थियो झ्याप्पै बत्ति गयो l ला अब पेट्रोल हाल्न नपाइने पो होकी जस्तो लाग्यो तर केहि मिनेट पछी बत्ति आयो l स्कूटरमा पेट्रोल हाल्ने शुरु मात्र के भएको थियो , बाहिर अचानक धेरै मोटरसाईकलहरुको हर्न एकै पटक ट्या ट्या र प्या प्याको आवाजमा चर्को रुपमा बजेको सुनियो l "कुनै मोटरसाईकल लाइनको बिचमा छिर्ने प्रयास गरेकोमा बिरोध स्वरूप हर्न बजाएको रहेछ" भन्दै केहि व्यक्तिहरु हाँसेको सुनियो l म चाँही स्कूटरमा ३ लिटर पेट्रोल हालेर साझा पेट्रोलपम्पबाट निस्किए l
त्यस बखत साझा पेट्रोल पम्पको दक्षिण तर्फ रहेको विद्युतीय सूचनापाटीको घडीमा साँझको ०७:२९ बजेको थियो l