Friday, February 14, 2025

जेब्रा क्रसिंग र ट्राफिक सचेतना: पूर्वाधार सुधार आवश्यक


ट्राफिक सचेतना कार्यक्रमा 'जेब्रा क्रसिंग बाट बाटो काटौं'को नारा समावेश थियो ।"
फोटो साभार: khabarhub.com

ललितपुर महानगरपालिकाले मिति २०८१ माघ १३ गते आइतबारदेखि “साप्ताहिक ट्राफिक सचेतना कार्यक्रम” आयोजना गरेको थियो। दिनप्रतिदिन बढ्दै गइरहेको सवारी दुर्घटनाका कारण धनजनको क्षति पनि बढ्दो छ। यस्तो अवस्थामा यस्ता सचेतना कार्यक्रमको छुट्टै महत्व रहन्छ। यसले ट्राफिक नियमको पालनामा रुचि नदेखाउनेहरूलाई सचेत तुल्याउनुका साथै नगरपालिकाको संवेदनशीलता पनि झल्काउँछ।

यस सचेतना कार्यक्रमको प्रमुख नारामध्ये “जेब्रा क्रसिङबाट बाटो काटौँ” पनि एक थियो। यसको उद्देश्य पैदल यात्रुलाई जेब्रा क्रसिङको प्रयोग गर्न उत्प्रेरित गर्नु हो। तर यस नाराले व्यवहारिक चुनौतीसमेत उजागर गरेको देखिन्छ।

ललितपुर महानगर क्षेत्रका अधिकांश जेब्रा क्रसिङहरू जीर्ण अवस्थामा छन्। सेतो रङ्ग खुइलिएको हुँदा कतिपय स्थानमा जेब्रा क्रसिङ पहिचान गर्नै गाह्रो छ, विशेष गरी रातिको समयमा त झन् देखिनै मुस्किल हुन्छ। यस्तो अस्पष्ट अवस्थामा पैदल यात्रुहरू ज्यानको जोखिम मोल्दै बाटो काट्न बाध्य छन्, भने सवारी चालकहरूलाई पनि अप्ठ्यारो पर्न आउँछ। यस्तो अवस्थामा “जेब्रा क्रसिङबाट बाटो काटौँ” भन्ने नारा कति सार्थक होला? अझ कुनै दुर्घटना भएमा यसको जिम्मेवारी कसले लिने?

तसर्थ, यस्ता सचेतना कार्यक्रम केवल प्रचारका लागि सीमित हुनुहुँदैन। यससँगै सम्बन्धित पूर्वाधारहरूको मर्मत–सम्भारलाई पनि प्राथमिकता दिनुपर्छ। नगरपालिकाले स्पष्ट, सुरक्षित, र दृष्टिगोचर हुने गरी जेब्रा क्रसिङहरू मर्मत गरेपछि मात्र यस्ता कार्यक्रम प्रभावकारी हुनेछन्। यसले पैदल यात्रु तथा सवारी चालक दुवैलाई लाभ पुर्‍याउनेछ भने महानगरपालिकाको गरिमा पनि उच्च राख्नेछ।

 


पुल्चोकमा रहेको एउटा जेब्रा क्रसिंग, जहाँ सडकको बिचमा छेकबार लगाइएको छ। यसले  पैदल यात्रुलाई द्विविधामा पारेको छ l



5मान भवन र कुमारिपातिको लगभग मध्य स्थानमा रहेको एउटा जेब्रा क्रसिंगर त्यसमै रोकी राखिएको स्कूटर 


पुल्चोक स्थित  अल्का अस्पताल अगाडिको जेब्रा क्रसिंग




मान भवन र कुमारीपाटीको  लगभग मध्य स्थानमा रहेको एउटा जेब्रा क्रसिंग