Wednesday, April 25, 2018

भूकम्प, भास्सरा स्कुल र Children Fun Camp



बि.स. २०७२ बैशाख १२ गते आएको विनाशकारी भूकम्पका कारण  आफ्नो घर छोडेका पूर्णचण्डी,पाटनका  टोलबासीहरुलाई भास्सरा  स्कूल ले करिब १ महिना सम्म आवासको सुबिधा उपलब्ध गराएको थियो l छिन छिनमा आइरहने पराकम्पनले हामी सबै त्रसित अवस्थामा थियौ l बालबालिकाहरु बढी त्रसित अवस्थामा थिए l दिन रात एकै ठाउँमा गुम्सिएर बस्नु पर्दा र डरका कारण उनीहरुका बालपन हराएको अवस्था थियो l सानो सानो पराकम्पन आउदा वा कुनै आवाज आउदा पनि उनीहरु तर्सिने , चिच्याउने र रुने गर्दथे l

यी समस्याहरु प्रति गम्भीर हुदै भूषणनाथ शर्माको संयोजकत्वमा  युवाहरुले भास्सरा स्कूल मै भूकम्प पिडित बालबालिका लगायत अभिभावकहरुलाई मूलत मनोबैज्ञानिक रुपमा भूकम्पको त्रास कम गराउने उद्देश्यले  "Children Fun Camp" संचालन गरेका थिए l

यस "Children Fun Camp" दिनभर जसो  नाच, गान, संगीत, कथा सुनाउने , चित्रकला,  भित्ते पत्रिका प्रकाशन , स्वास्थ्य परिक्षण  लगायतका कार्यक्रमहरुमा आयोजन गरिन्थ्यो l कार्यक्रमहरुमा  बालबालिकाहरु सक्रिय पुर्वक सहभागी हुन्थे भने अभिभावकहरु सहयोगीको भूमिका निर्वाह गर्दथे l आफ्ना छोरा छोरीहरु रमाएको देखेर अभिभावकहरु खुशी देखिन्थे l

यस कार्यक्रमले मनोबैज्ञानिक रुपमा भूकम्पको त्रास कम गराउने उद्देश्य सफल हुनुको साथै  टोलबासीहरु बीच  आपसी मेलमिलाप, सद्भाव  र भईचारामा अभिबृद्धि गरेको  थियो l

करिब् एक महिना सम्म आवासको सुबिधा उपलब्ध गराउने भास्सरा बिद्यालयल परिवारका सदस्यहरु  तथा बालबालिका लगायत हामी   सबैलाई मनोरंजन प्रदान गर्नुको साथै  मनोबिज्ञानिक रुपमा भूकम्पको त्रास हटाउने   "Children Fun Camp" कार्यक्रमका  संचालकहरु  सबै बस्ताबमै  प्रशंसनीय  व्यक्तिहरु हुन l उहाँहरु सबै प्रति पुन: एक पटक धन्यावाद तथा आभार प्रकट गर्दछु l 

Children Fun Camp (https://www.facebook.com/fUncaMppurNachandi/) को फेसबुक पेज बाट साभार केहि फोटोहरु 
















Saturday, April 14, 2018

१६ किमी भन्दा बढी हिडिएछ सर...



सन्दर्भ : नयाँ बर्ष
स्थान : हरिहरभवन, ललितपुर  स्थित एउटा रेस्टुरेन्ट
मिति : १बैशाख, २०७५ 
समय : बेलुकी ८:३० बजे

Image result for waiter of restaurant CLIP ART
Image source : https://www.dreamstime.com/royalty-free-stock-image-waiter-serving-female-guest-image35763806

रेस्टुरेन्टमा चहल पहल निक्कै थियो l टेबलहरु  सबै भरिभराउ थिए l रेस्टुरेन्टका  कर्मचारीहरु पाहुनाहरु  भरिएका टेबलहरुमा खानाको अर्डर लिन र खाना पुर्याउन लगभग दौडादौडको अवस्थामा कुदी रहेका थिए l
 
हामीले खानाको बिल तिर्ने बेलामा एक जना कर्मचारीहरुसंग एउटा जिज्ञाशा राख्यौं “तपाई यसरी दौडादौड गरि रहनु भएको छ, आज दिन भरिमा कति जति  हिड्नु भयो होला ?”  हामीले तिरेको पैसा सहित बिल बुक टेबलमा राख्दै उनले भने “एक छिन है सर”  भन्दै आफ्नो पाइन्टको गोजीबाट मोबाईल निकालेर त्यसमा आफ्नो औला घोट्न थाल्यो शायद केहि खोज्ने प्रयास गर्दे थियो l एक छिन् पछी मेरो जिज्ञाशा मेटाउने  प्रयास गर्दै भन्यो  “ आज बिहान देखि अहिले सम्म १६ किमी भन्दा बढी हिडिएछ,
सर” भन्दै उनले थपे  “अझै करिब डेढ घण्टा ड्युटी बाँकि छ हेरौ कति पुग्छ l“ यो जवाफ सुनेर  मेरो मुख बाट अचानक निस्कियो  “बाफ रे बाफ“  र नयाँ बर्षको शुभ कामना आदान प्रदान गर्दै हामी फर्कियौ l 

 “उनि रातको १० बजे आफ्नो ड्युटी सकाएर घर फर्किने बेला कति थाकेको हुदो हो ?” मैले कुनै अडकल काट्नै सकिन ...