Friday, September 21, 2018

पेट्रोलको लाईनमा थोत्रो मोबाईलको साथ



लामो समयको अन्तराल पछी आज  १  घण्टा ४४ मिनेट  लाइनमा लागेर स्कूटरमा ३ लिटर पेट्रोल हालियो l 

अफिसबाट घर फर्किदै थिए हरिहर भवन स्थित साझा पेट्रोल पम्पमा पेट्रोल हाल्न लाइन लागेका मोटरसाइकलहरु ललितपुर महानगरपालिका अगाडी लाबिम मल सम्म भएको देखे l बिहान अफिस जाँदा मदन स्मारक सम्म लाइन पुगेको देखेको थिए l आफ्नो  पनि स्कुटरमा पेट्रोल लगभग सक्किएको अवस्था थियो l 

शनिबार र आइतबार अफिस बिदा भएकोले कतै जानु पर्ला भन्ने चिन्ता त थिएन l तैपनि  लाइन लाग्ने कि नलाग्ने भन्ने दोधारमा परे किनकि भोक र शायद दिनभरिको परिश्रमले होला थकित थिए l सदा झैँ  घर पुगेर श्रीमतीले माया गरेर दिने मिठ्ठो चियाको सुर्की लगाउन  मन  लालायित थियो l अचानक भोलि शनिबार भएपनि बिहान ०८:०० नै ड्युटीमा खटिनु पर्ने आदेश सम्झिए l तर स्कूटरमा पेट्रोल थिएन l त्यसैले मन को ईच्छालाई मनमै दबाई लाईन लाग्न बाध्य भए  l  

म लाइन लाग्दा साँझको ०५:४५ बजेको  थियो l लाइन बिस्तारै बिस्तारै सर्दै थियो भने म भन्दा पछाडी एक पछी अर्को गर्दै मोटरसाइकलहरु थपिदै थियो l मलाई लाबिम मल देखि एभरेष्ट बैंक सम्म पुग्न ठ्याक्कै ४५ मिनेट लाग्यो l भोक र थकाइले लखतरान भएको अवस्थामा धुँवा,धुलो त्यसमाथि भ्यार्र भ्यार्र, घ्रुम्म घ्रुम्मको चर्को आवाजमा बत्तिएर आउने अग्ला अग्ल्ला मोटरसाइकल देख्दा त्यसै त्यसै रिंगटा लाग्या जस्तो भयो  l  पेट्रोल भर्ने आफ्नो पालो आउन अझै निक्कै समय लाग्ने निश्चित थियो l समय कटाउन  के गर्ने गर्ने भयो l त्यस पछी आफ्नो  थोत्रै भए पनि मोबाइल फोनबाट स्कूटरको सिटबाट न ओर्लिकन अल्छी पाराले फोटोहरु खिची आफुलाई ब्यस्त राख्ने प्रयास गरे l

फलानो लुगा पसल नजिक पुगे पछी सिमसिम  पानी  पर्न थाल्यो l आफुलाई भिजाएको भए  पनि धुलोबाट प्राकृतिक रुपमै राहत  पाउदा रमाइलो अनुभव भयो l  पेट्रोल पम्प पुगेर आफ्नो स्कूटरमा  पेट्रोल हाल्ने पालो थियो झ्याप्पै बत्ति गयो l ला अब पेट्रोल हाल्न नपाइने पो होकी जस्तो लाग्यो तर केहि मिनेट पछी बत्ति आयो l  स्कूटरमा पेट्रोल हाल्ने शुरु मात्र के भएको थियो , बाहिर अचानक धेरै  मोटरसाईकलहरुको  हर्न एकै पटक  ट्या ट्या र प्या प्याको आवाजमा चर्को रुपमा बजेको सुनियो l "कुनै मोटरसाईकल लाइनको बिचमा छिर्ने प्रयास गरेकोमा बिरोध स्वरूप हर्न बजाएको रहेछ" भन्दै केहि व्यक्तिहरु हाँसेको सुनियो l म चाँही स्कूटरमा  ३ लिटर  पेट्रोल हालेर  साझा पेट्रोलपम्पबाट निस्किए  l 

त्यस बखत साझा पेट्रोल पम्पको दक्षिण तर्फ रहेको विद्युतीय सूचनापाटीको घडीमा साँझको ०७:२९ बजेको थियो l            








































Thursday, July 26, 2018

अस्थाई सडकको यस्तो दुर्दशा ...

हिलाम्य बाटोमा एउटा ट्यांकर फसेको कारण बाटो अबरुद्द थियो l फसेको ट्यांकरलाई छल्न एउटा बस माथिल्लो  बाटो प्रयोग गर्दै ट्यांकरको पछाडी निस्किन खोजेको थियो, हिलोमा बसको अगाडिको पांग्रा भास्सियो l बसमा सवार यात्रुहरु ओर्लिए भने बसका कर्मचारीहरु बसको अगाडी तर्फको बाटो खन्न थाले थाले l केहि क्षणको मिहेनत पछि बस कहिले अगाडी कहिले पछाडी गर्दै भास्सिएको स्थानबाट निकाल्न बसका कर्मचारीहरु सफल भए l

यो आज २०७५ साउन १० गते साँझ ५:३० बजे तिर कलंकी, खसी बजारबाट करिब सय मिटर पूर्ब अर्थात बल्खु तर्फ को दृश्य हो l त्यस समय म स्कूटरमा घर तर्फ जादै थिए l केहि मानिसहरुको जमघट र सवारी साधन जाम भएको देखेर म पनि रोकिए l स्कूटर मित्र राष्ट्र चीन निर्माण गर्दै गरेको बाटो छेउ रोके र उत्तर तर्फको अस्थाई सडक तर्फ लागे जहाँ ट्यांकर हिलोमा फसेका कारण अन्य साधनहरु जाममा परेका थिए l बाटो त के भन्नु भैसीको आहाल भन्दा कम थिएन, पुरै हिलाम्य र खाल्डा खुल्डी परेका थिए l त्यस माथी समय समय बर्षी रहेको पानी l यस्तो बाटोमा ट्रक, बस, ट्यांकर लगायतका ठुला सवारी साधनहरु ढल्की मल्की गर्दै सुस्तरी सुस्तरी घस्रदै थिए मानौ की कुनै नर्तक वा नर्तकीहरुले नृत्यका स्टेपहरुको पूर्वाभ्यास गरि रहेको होकी जस्तो l ति आहाल रुपी बाटोमा साना सवारी साधन गुड्ने कुनै सम्भावना नै थिएन l तर एउटा स्कूटर ट्यांकर फसेकै स्थानमा आइपुग्यो, बल्ल बल्ल एक बटुवाको सहयोगमा हिलो बाट पार लाग्न सफल भयो l अन्य सवारी साधनहरु त हिलोमा फसेको ट्यांकरले बाटो अबरुद्द पारेको कारण हलचल गर्नै पाएका थिएनन् l

मित्र राष्ट्र चीन निर्माण गर्दै गरेको बाटो डोजर लगायतका साधनहरु तेर्साएर बाटो लगभग बन्द गरिएको थियो तर मोटरसाईकल चाँही छिर्न सक्थ्यो l  कुनै बेला डोजर हटाएर बाटो खोलिन्थ्यो र तुरन्तै बन्द गरिन्थ्यो l त्यहाँ खटिएका एक जना ट्राफिकलाई नयाँ बन्दै गरेको सडकमा छेकिने गरि तेर्साएर रखिएका डोजरहरु हटाई बाटो खुलाउन अनुरोध गर्नु पर्यो भन्ने सुझाव राख्दा, उनेले “उनी(चाईनिज)हरु हाम्रो अधिनमा छैनन हामीले भनेको मान्दैनन्” भन्ने जवाफ दिए l मैले पुन तपाइँहरुको माथिल्लो निकायमा जानकारी गराउन अनुरोध गर्दा , उनले “ त्यता पनि जानकारी गराई सके” भन्ने जवाफ दिए l 

काठमाडौ उपत्यका भित्रिने र बाहिरिने थानकोट नाका जाने एक मात्र बाटो कलंकी नजिकै अस्थाई सडकको यस्तो दुर्दशा छ l निर्माणाधीन सडक बन्द गरिएको छ l तर अस्थाई सडक त साना ठुला सबै सवारी साधन गुड्न लायक बनाउनू पर्यो l अस्थाई सडक अबरुद्द हुदाँ निर्माणाधीन सडक खोल्नु पर्यो l 

सधै जनतालाई यसरी किन दु:ख झेल्न किन बाध्य पारिन्छ? पहिले स्थानीय निकाय थिएन र यस्तो समस्या हुदाँ कसलाई भन्ने, काहाँ भन्ने, भन्ने अन्योल थियो तर अहिले त्यो अवस्था छैन नी l कता हुनु हुन्छ महानगरपालिका स्थानीय वडा सदस्य, वडा अध्यक्ष, मेयर, उपमेयर ज्यूहरु, सडक विभाग, यातायात बिभाग, मन्त्रालयका कमर्चारी लगायतका मन्त्रीहरु ज्यूहरु, जनताले पाएको यस दु:खमा के तपाईहरुको कुनै जिम्मेवारी छैन ?    










x

Monday, June 18, 2018

सार्वजनिक स्थानमा भ्रम सृजना हुने सूचना किन ?



२०७५ असार ५ गते मंगलबार 

विकासे महिना भएर होला मेरो घर वरपरका बाटाहरु कतै ढलान हुदै छन् कतै ढलको पाईप बिछ्याउन ढल खन्ने काम भै रहेको छ l जसले गर्दा बाटो होकी धान रोप्न तयार पारिएको खेत हो छुट्याउन गाह्रो छ l त्यसैले हिजो आज खेत रुपी बाटो छल्ने क्रममा केहि घुमाउरो बाटो रोज्न बाध्य छु l

घुमाउरो बाटो रोज्दै गाबहाल हुदै पुल्चोक तर्फ स्कूटरमा  हुइकिदै थिए l अफिस पुग्न ढिला भईरहेको थियो  त्यसैले अलि हतारमा थिए l गाबहालमा सडकको  बायाँ तर्फ ढल फुटेर हिलो माटो थुप्रिएको  थियो l त्यही हिलोमाटो छेउमा फ्लेक्समा प्रिन्ट गरिएको एउटा सूचना ठड्याईएको  थियो l उक्त सूचनामा “रातो मच्छिन्द्रनाथ....” उल्लेख गरेको पढ्न भ्याए  तर पुरै पढ्न भ्याईन l एक मनले फर्केर तत्काल उक्त सूचना पढौ जस्तो लाग्यो अर्को तर्फ अफिस पुग्न ढिला भै रहेको हुनाले आ होस् भन्दै अघि बढे l तत्काल फर्केर उक्त सूचना पढ्ने वा अफिस तिर हुइकिने भन्ने बिषयमा मेरो मनमा अन्तरद्वन्द चलिनै रहयो l अन्तत ढल भुटेर जम्मा भएको त्यो हिलो माटो मा “रातो मच्छिन्द्रनाथ” को बारेमा के लेखिएको थियो भन्ने जानकारी लिन  तत्काल फर्किने निर्णय गरे त्यतिन्जेल म न:टोल स्थित “न्यू शोभा फोटो” नजिक  पुगी सकेको रहेछु l

फर्केर स्कूटर गाबहालमा सडक छेउमा पार्किंग गरे l उक्त सूचना टाढै बाट सजिलै पढ्न सकिन्थ्यो र त्यसमा "बाटो बन्द" शिर्षकमा “रातो मच्छिन्द्रनाथ को जात्रा भएकोले अर्को बैकल्पिक मार्गको प्रयोग गर्नु होला l  ट्राफिक प्रहरी ललितपुर l ” भनि उल्लेख गरिएको थियो l 

त्यो सूचना पढे पछी खिन्नता एबम ग्लानिको महशुस भयो l किनकी यस सूचनामा उल्लेख गरिए अनुसार त्याँहा बाटो बन्द पनि थिएन र कुनै जात्रा पनि थिएन l 

यस वर्षको मच्छिन्द्रनाथ को जात्रा मिति २०७५ बैशाख ६ गते पुल्चोक बाट प्रारम्भ भई २०७५ बैशाख ३० गते जाउलाखेलमा भोटो देखाई सम्पन्न भै सकेको छ l यो जात्रा बर्षमा एक पटक मात्र चलाईन्छ l यस बर्ष जात्रा विधिवत रुपमा  समाप्त भै सकेको अवस्थामा जनमानसमा भ्रम सृजना हुने गरि यस प्रकारको गलत सूचना सार्वजनीक स्थानमा किन ?  त्यो पनि ट्राफिक प्रहरीको नाममा l 

 किन हामी यति गैर जिम्मेवार भएका? सार्वजनिक स्थानमा यसरी भ्रमात्मक सूचना राख्न पाईन्छ ?

जुन स्थानबाट दिन भरिमा सयौ आन्तरिक एबम बाह्य पर्यटकहरु ओहर दोहर गर्छन त्यस्तो महत्वपूर्ण  सार्वजनिक स्थानमा यस किसिमका गलत सूचना राखिनु कत्तिको न्याय संगत छ ?