Friday, September 21, 2018

पेट्रोलको लाईनमा थोत्रो मोबाईलको साथ



लामो समयको अन्तराल पछी आज  १  घण्टा ४४ मिनेट  लाइनमा लागेर स्कूटरमा ३ लिटर पेट्रोल हालियो l 

अफिसबाट घर फर्किदै थिए हरिहर भवन स्थित साझा पेट्रोल पम्पमा पेट्रोल हाल्न लाइन लागेका मोटरसाइकलहरु ललितपुर महानगरपालिका अगाडी लाबिम मल सम्म भएको देखे l बिहान अफिस जाँदा मदन स्मारक सम्म लाइन पुगेको देखेको थिए l आफ्नो  पनि स्कुटरमा पेट्रोल लगभग सक्किएको अवस्था थियो l 

शनिबार र आइतबार अफिस बिदा भएकोले कतै जानु पर्ला भन्ने चिन्ता त थिएन l तैपनि  लाइन लाग्ने कि नलाग्ने भन्ने दोधारमा परे किनकि भोक र शायद दिनभरिको परिश्रमले होला थकित थिए l सदा झैँ  घर पुगेर श्रीमतीले माया गरेर दिने मिठ्ठो चियाको सुर्की लगाउन  मन  लालायित थियो l अचानक भोलि शनिबार भएपनि बिहान ०८:०० नै ड्युटीमा खटिनु पर्ने आदेश सम्झिए l तर स्कूटरमा पेट्रोल थिएन l त्यसैले मन को ईच्छालाई मनमै दबाई लाईन लाग्न बाध्य भए  l  

म लाइन लाग्दा साँझको ०५:४५ बजेको  थियो l लाइन बिस्तारै बिस्तारै सर्दै थियो भने म भन्दा पछाडी एक पछी अर्को गर्दै मोटरसाइकलहरु थपिदै थियो l मलाई लाबिम मल देखि एभरेष्ट बैंक सम्म पुग्न ठ्याक्कै ४५ मिनेट लाग्यो l भोक र थकाइले लखतरान भएको अवस्थामा धुँवा,धुलो त्यसमाथि भ्यार्र भ्यार्र, घ्रुम्म घ्रुम्मको चर्को आवाजमा बत्तिएर आउने अग्ला अग्ल्ला मोटरसाइकल देख्दा त्यसै त्यसै रिंगटा लाग्या जस्तो भयो  l  पेट्रोल भर्ने आफ्नो पालो आउन अझै निक्कै समय लाग्ने निश्चित थियो l समय कटाउन  के गर्ने गर्ने भयो l त्यस पछी आफ्नो  थोत्रै भए पनि मोबाइल फोनबाट स्कूटरको सिटबाट न ओर्लिकन अल्छी पाराले फोटोहरु खिची आफुलाई ब्यस्त राख्ने प्रयास गरे l

फलानो लुगा पसल नजिक पुगे पछी सिमसिम  पानी  पर्न थाल्यो l आफुलाई भिजाएको भए  पनि धुलोबाट प्राकृतिक रुपमै राहत  पाउदा रमाइलो अनुभव भयो l  पेट्रोल पम्प पुगेर आफ्नो स्कूटरमा  पेट्रोल हाल्ने पालो थियो झ्याप्पै बत्ति गयो l ला अब पेट्रोल हाल्न नपाइने पो होकी जस्तो लाग्यो तर केहि मिनेट पछी बत्ति आयो l  स्कूटरमा पेट्रोल हाल्ने शुरु मात्र के भएको थियो , बाहिर अचानक धेरै  मोटरसाईकलहरुको  हर्न एकै पटक  ट्या ट्या र प्या प्याको आवाजमा चर्को रुपमा बजेको सुनियो l "कुनै मोटरसाईकल लाइनको बिचमा छिर्ने प्रयास गरेकोमा बिरोध स्वरूप हर्न बजाएको रहेछ" भन्दै केहि व्यक्तिहरु हाँसेको सुनियो l म चाँही स्कूटरमा  ३ लिटर  पेट्रोल हालेर  साझा पेट्रोलपम्पबाट निस्किए  l 

त्यस बखत साझा पेट्रोल पम्पको दक्षिण तर्फ रहेको विद्युतीय सूचनापाटीको घडीमा साँझको ०७:२९ बजेको थियो l            








































No comments: