Friday, February 23, 2024

 पीडितहरुलाई थप पीडा  




आज अर्थात्  ११ फागुन २०८०, शुक्रबार, सिंहदरवार तर्फ हिडेका मिटर ब्याज पीडितहरुलाई प्रहरीले  भृकुटीमण्डप छेउबाट अधि बढ्न रोकेको थियो l उनीहरु बाटैमा बसेका थिए l जसका कारण ट्राफिक जाम भएको थियो l झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट पैदल हिंडेका मिटरब्याज पीडित २३ दिनपछि बुधबार काठमाडौं आइपुगेका हुन् । सरकारले पिडितहरुलाई बाटैअलपत्र पर्ने गरि रोकेर किन झन्  पिडित बनाएको होला ?  उनीहरु काठमाण्डौमा आएर आन्दोलन गर्दैछन भन्ने त पूर्ब जानकारी थियो नै l 

२३ दिन सम्म सरकार के सोचेर बसेको थियो होला ? 






Sunday, August 4, 2019

पाटन क्याम्पसका सेता टहराहरु ...

२०७६ साल साउन १५  गते  काम बिशेषले पाटन ढोका  स्थित  पाटन क्याम्पस पुगेको थिए l कृष्णगल्ली तर्फको गेटबाट क्याम्पसको हाता भित्र प्रवेश  गरी नेपाल भाषा बिभाग तर्फ लम्कने क्रममा दायाँ तर्फको सेतो रंगका दुइ वटा टहराहरुको  दयनीय अवस्था देख्दा नरमाइलो लाग्यो l आफ्नो काम फत्ते गरि फर्किने क्रममा मोबाईलबाट ती टहराका  केहि  फोटोहरु खिचे  l ति फोटोहरु यहाँ प्रस्तुत गरेको छु l ती  टहराहरुको अवस्था बारे शब्दले व्याख्या गरिन किनकी  शब्दले भन्दा  फोटो आफैले संदेश प्रवाह गर्छ की जस्तो लाग्यो  ... 
























Friday, September 21, 2018

पेट्रोलको लाईनमा थोत्रो मोबाईलको साथ



लामो समयको अन्तराल पछी आज  १  घण्टा ४४ मिनेट  लाइनमा लागेर स्कूटरमा ३ लिटर पेट्रोल हालियो l 

अफिसबाट घर फर्किदै थिए हरिहर भवन स्थित साझा पेट्रोल पम्पमा पेट्रोल हाल्न लाइन लागेका मोटरसाइकलहरु ललितपुर महानगरपालिका अगाडी लाबिम मल सम्म भएको देखे l बिहान अफिस जाँदा मदन स्मारक सम्म लाइन पुगेको देखेको थिए l आफ्नो  पनि स्कुटरमा पेट्रोल लगभग सक्किएको अवस्था थियो l 

शनिबार र आइतबार अफिस बिदा भएकोले कतै जानु पर्ला भन्ने चिन्ता त थिएन l तैपनि  लाइन लाग्ने कि नलाग्ने भन्ने दोधारमा परे किनकि भोक र शायद दिनभरिको परिश्रमले होला थकित थिए l सदा झैँ  घर पुगेर श्रीमतीले माया गरेर दिने मिठ्ठो चियाको सुर्की लगाउन  मन  लालायित थियो l अचानक भोलि शनिबार भएपनि बिहान ०८:०० नै ड्युटीमा खटिनु पर्ने आदेश सम्झिए l तर स्कूटरमा पेट्रोल थिएन l त्यसैले मन को ईच्छालाई मनमै दबाई लाईन लाग्न बाध्य भए  l  

म लाइन लाग्दा साँझको ०५:४५ बजेको  थियो l लाइन बिस्तारै बिस्तारै सर्दै थियो भने म भन्दा पछाडी एक पछी अर्को गर्दै मोटरसाइकलहरु थपिदै थियो l मलाई लाबिम मल देखि एभरेष्ट बैंक सम्म पुग्न ठ्याक्कै ४५ मिनेट लाग्यो l भोक र थकाइले लखतरान भएको अवस्थामा धुँवा,धुलो त्यसमाथि भ्यार्र भ्यार्र, घ्रुम्म घ्रुम्मको चर्को आवाजमा बत्तिएर आउने अग्ला अग्ल्ला मोटरसाइकल देख्दा त्यसै त्यसै रिंगटा लाग्या जस्तो भयो  l  पेट्रोल भर्ने आफ्नो पालो आउन अझै निक्कै समय लाग्ने निश्चित थियो l समय कटाउन  के गर्ने गर्ने भयो l त्यस पछी आफ्नो  थोत्रै भए पनि मोबाइल फोनबाट स्कूटरको सिटबाट न ओर्लिकन अल्छी पाराले फोटोहरु खिची आफुलाई ब्यस्त राख्ने प्रयास गरे l

फलानो लुगा पसल नजिक पुगे पछी सिमसिम  पानी  पर्न थाल्यो l आफुलाई भिजाएको भए  पनि धुलोबाट प्राकृतिक रुपमै राहत  पाउदा रमाइलो अनुभव भयो l  पेट्रोल पम्प पुगेर आफ्नो स्कूटरमा  पेट्रोल हाल्ने पालो थियो झ्याप्पै बत्ति गयो l ला अब पेट्रोल हाल्न नपाइने पो होकी जस्तो लाग्यो तर केहि मिनेट पछी बत्ति आयो l  स्कूटरमा पेट्रोल हाल्ने शुरु मात्र के भएको थियो , बाहिर अचानक धेरै  मोटरसाईकलहरुको  हर्न एकै पटक  ट्या ट्या र प्या प्याको आवाजमा चर्को रुपमा बजेको सुनियो l "कुनै मोटरसाईकल लाइनको बिचमा छिर्ने प्रयास गरेकोमा बिरोध स्वरूप हर्न बजाएको रहेछ" भन्दै केहि व्यक्तिहरु हाँसेको सुनियो l म चाँही स्कूटरमा  ३ लिटर  पेट्रोल हालेर  साझा पेट्रोलपम्पबाट निस्किए  l 

त्यस बखत साझा पेट्रोल पम्पको दक्षिण तर्फ रहेको विद्युतीय सूचनापाटीको घडीमा साँझको ०७:२९ बजेको थियो l