Monday, November 13, 2017

नेपालका एकमात्र चुरा कलाकार स्व.कल्याणी राजोपाध्याय प्रति हार्दिक श्रद्धाञ्जली







-बिमल चन्द्र शर्मा

घरको एउटा कोठाको भित्तामा एउटा फ्रेम साँचेर राखेका छौ l उक्त फ्रेमभित्र सुन्दर मयुर कैद छ l रुखको हाँगामा आराम गरिरहेको जस्तो देखिने कल्की देखि सुन्दर पुच्छर सहित को यो मयुर अब उद्ने होकी तब उद्ने हो जस्तो देखिन्छ l परम्परागत शैलीहरु भन्दा पृथकशैलीमा काँचका चुराका सयौं स-साना रंगीन टुक्राहरुबाट बडो मिहेनत पुर्बक यो मयुर बनाईएको छ l




यो चित्र सर्जक कलाकार स्वयम् मेरो घरसम्म आफै आएर उपलब्ध गराउनु भएको हो l त्यसैले यो कलाको महत्व छुट्टै छ, म र मेरो परिवारका लागि l यसका सर्जक काँचका चुराका रंगिन टुक्राहरू जोडेर जीवन्तता प्रदान गर्ने नेपालका एक मात्र कलाकार स्व. कल्याणी राजोपाध्याय हुनुहुन्थ्यो l हो उहाँ ४५ दिन अधि सम्म हामी बीच हुनुहुन्थो तर आज उहाँको नाम अगाडी स्वर्गीय लेख्न बाध्य हुनु पर्दा असहजता महसुस भै रहेको छ l

आजको ४५ दिनको पुण्यतिथिमा उहाँप्रति म र मेरो परिवारको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ l

अब उद्ला, तब उद्ला जस्तो देखिने भित्तामा सजिएको त्यो मयुरको चित्र हेर्दा पृष्टभूमिमा स्व. कल्याणी राजोपाध्यायज्यू संगको त्यो पलको सम्झना चलमलाउन थाल्छ, जुन बेला उहाँ मेरो घरमा उक्त चित्र दिन आफै आउनु भएको थियो l उहाँले काँचका चुराका टुक्राहरुबाट चित्र बनाउदा निक्कै गाह्रो भएको बताउनु भएको थियो l "आबश्यकता अनुसारका रंगहरुका पाउनु नै निक्कै गार्हो छ " भन्दै उहाँले आफ्नो हातका औलाहरुको चिरा चिरा परेको छाला देखाउदै भन्नुभाको थियो "चुरालाई आबश्यकतानुसार बिभिन्न आकारका टुक्राहरू पार्दा हातका औलाहरुमा घाउ हुन्छ र काम गर्न निक्कै गार्हो हुन्छ l"  करिब करिब २ घण्टा जाति समय  जीवनका आरोह र अवरोहका तथा दुख सुखका कुरा सुनाउनु भयो, सुन्नु पनि भयो l समय समयमा उहाँसंग भेट र कुरकानी नभएको होइन तर यसरी खुलेर कुराकानी गर्ने अवसर जुरेको थिएन र अब झन् जुर्ने कुरै भएन l 

एक गृहणी भइकन पनि फुर्सतको समयमा कलाकारितामा समर्पित भई सफलताको शिखर उक्लिरहनु भएका कलाकार स्व. कल्याणी राजोपाध्यायको प्रयासलाई दैबले देखि सहेन र हामीले पनि समयमै चिन्न सकेनौ l निष्ठुरी दैबले अल्प आयुमै उहाँलाई हामीबाट खोस्यो l उहाँबाट नेपालको कला क्षेत्रमा पुग्न सक्ने योगदानमा समेत पुर्णबिराम लगाउदै नेपालको कलाक्षेत्रमा  ठुलो क्षति पुर्यायो l

तर उहाँले आफ्नो कलायात्राको छोटो समयावधिमै नेपालको कला क्षेत्रमा थप्नु भएको नौलो आयाम हामीसंग छ l उहाँको सम्झनालाई कायमै राखी उहाँले थप्नु भएको नयाँ आयामलाई कसरी जीवन्तता र निरन्तरता दिने हो यस तर्फ हाम्रो ध्यान केन्द्रित हुन परेको छ l सम्वन्धित संघ संस्था लगायत व्यक्तिहरुबाट यस बिषयमा बिशेष प्रयासको लागि म अनुरोध गर्न चाहन्छु l यस कार्यमा म र मेरो परिवारबाट हुन सक्ने सहयोग र कार्य गर्ने बचन बध्दता प्रकट गर्दछु l कलाकार स्व. कल्याणी राजोपाध्ययायज्यूको योगदानलाई जीवन्तता र निरन्तरता दिन सकियो भने उहाँप्रतिको बास्तविक श्रद्धाञ्जली हुनेछ l   

स्व. कल्याणी राजोपाध्यायज्यूसंग सम्बन्धित केहि सामाग्रीहरु संकलन हामीले गरेका छौ l जसको लिंक निम्नानुसार छन् l तपाईहरुसंग पनि उहांसंग सम्बन्धित साम्मग्रिहरु छन् भने उपलब्ध गराईदिनुहुन बिनम्र अनुरोध गर्दछु l  

२०७४/०७/२७

No comments: